सम्पत्ति शुद्धीकरण निवारणमा जोखिम मूल्याङ्कन र जोखिममा आधारित पद्धतिको अवलम्बन

१. पृष्ठभूमि

भ्रष्टाचार, मानव बेचविखन, लागूऔषधको कारोबार सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कृयाकलापमा वित्तीय लगानी लगायतका विभिन्न वित्तीय अपराधका गतिविधिहरु घट्नु भन्दा बढ्दो क्रममा रहेको देखिएकोले विश्वको वित्तीय प्रणाली र अर्थतन्त्र थप असुरक्षित हुँदै गएको देखिन्छ । उक्त कारणले विश्वका धनी तथा गरिब सबै मुलुकहरुमा यसको प्रत्यक्ष तथा परोक्ष असर देखिइरहेको पनि छ । नविन प्रविधिको प्रयोग गर्दै विभिन्न देशबीच सञ्जाल बनाई आपराधिक समूह संगठित रुपमा लागि परेकोले सबै मुलुकको साझा प्रयासको खाँचो महसूस गरिएको छ । राज्यको सिमित स्रोत साधन प्रयोग गरी त्यस्ता अपराध र संगठित अपराधी समूहसँग जुध्नु परेको यथार्थलाई मनन् गरी Financial Action Task Force-FATF नामक अन्तरसरकारी निकायले सदस्य मुलुक (Member Jurisdictions) हरुले अबलम्बन गर्नु पर्ने AML/CFT को नीति तथा उपाय स्वरुप ४० वटा सिफारिसहरु प्रस्तुत गरेको छ ।

उक्त ४० वटा सिफारिसहरु मध्ये प्रथम सिफारिसमा “प्रत्येक मुलुकले आफ्नो देशमा रहेको सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कृयाकलापमा वित्तीय लगानी तथा आम विनासका आतहतियारको उत्पादन, ओसारपसार तथा विक्रिवितरणमा वित्तीय लगानीका जोखिमको पहिचान, मूल्याङ्कन गरी तीनको निवारणका लागि जोखिममा आधारित पद्धति अबलम्बन गरेको सुनिश्चित गरेको हुनु पर्ने” भन्ने सिफारिस गरी सदस्य मुलुकका लागि अनिवार्य दायित्व सिर्जना गरेको छ । सोही दायित्व पुरा गर्दै सम्पत्ति सुद्धीकरण तथा आतङ्ककारी कृयाकलापमा वित्तीय लगानी निवारण गर्ने प्रयोजनार्थ नेपालले सन् २०१२ मा शुरु गरी सन् २०१६ सम्म ML/TF का जोखिम मूल्याङ्कनलाई निरन्तरता दिएको, सन् २०१६ मा जोखिम मुल्याङ्कन प्रतिवेदन र सन् २०१८ मा स्वयम् मुल्याङ्कन प्रतिवेदन (self-Assessment Report) समेत तयार गर्यो । सन् २०१५ देखि सन् २०१८ र सन् २०१९ को मध्य सम्मका केहि तथ्यांक समेतको आधारमा नेपालले राष्ट्रिय जोखिम मुल्याङ्कन प्रतिवेदन, २०२० तयार गरी ML/TF का जोखिमहरुको सम्पत्ति प्राथमिकीकरण गरी सो आधारमा सूचक संस्था लगायतका अन्य निकायहरुले AML/CFT का लागि जोखिममा आधारित पद्धती अबलम्बन गर्न AML/CFT को तेस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८१.२०८६) समेत तयार गरी लागू गरेको अवस्था छ । साथै उक्त रणनीति तथा कार्ययोजनालाई मूर्त रुप दिन सम्पत्ती शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ लगायतका कानूनहरुमा पछिल्लो पटक संशोधन समेत गरिएको छ ।

२. ML/TF को जोखिमः

अवधारणा

विभिन्न मुलुकका वित्तीय प्रणालीमा रहेका कमिकमजोरीको विद्यमानता र सरकारको फितलो नियमनका कारण त्यस्ता कमिकमजोरीको दुरुपयोग गर्दै आपराधिक समूहहरुले संगठित रुपमा वित्तीय अपराधका घटना घटाइरहेको देखिन्छ । त्यस्ता आपराधिक गतिविधि तथा समूह र कानूनी, प्रकृयागत, संरचनागत तथा क्षेत्रगत कमिकमजोरीहरु नै ML/TF का लागि जोखिमहरु हुन्। ML/TF का जोखिमको सम्बन्धमा सूचक संस्था लगायत सबै सक्षम निकायबीच समान बुझाईको आवश्यकता पर्दछ । कुनै देशको वित्तीय प्रणालीको निश्चित क्षेत्रमा रहेका ML/TF का Threats, Vulnerabilities र Consequences नै ML/TF का जोखिमहरु हुन् । त्यसैले ML/TF का जोखिम पहिचान गर्नु भनेको देशको वित्तीय प्रणाली भित्र ML/TF का लागि के कस्ता र कुन स्तरका Threats र Vulnerabilities रहेका छन् साथै त्यस्ता आपराधिक क्रियाकलापको वित्तीय प्रणाली र संस्थाहरुमा के कुन स्तरको प्रभाव रहेको छ वा पर्ने देखिन्छ सो को पहिचान गर्नु हो। यसमा Threats व्यक्ति तथा गतिविधिसँग सम्बन्धित छ भने Vulnerability अपराध तथा अपराधीका लागि कानूनी तथा वित्तीय प्रणालीमा रहेका कमी कमजोरी तथा वातावरणसँग सम्बन्धित छ । उदाहरणका लागि सम्पत्ति आर्जनका लागि समाजमा घटाइएका आपराधिक गतिविधिहरु जस्तै घुसको लेनदेन, करछली, मानव बेचबिखन, संगठीत अपराध आदिको वाहुल्यताले ML/TF को थ्रेटलाई इंगित गर्दछ भने त्यस्ता गतिविधिहरु संचालन गर्न वित्तीय प्रणालीमा भएका छिद्र (Loopholes) तथा फितलो नियमन प्रणालीले Vulnerability लाई जनाउँदछ । Consequences अपराधको संभावना र परिणामको आधारमा जोखिम र सोको स्तरसँग सम्बन्धित छ। Consequences को पहिचानले Threats को स्तर (Level) निर्धारण गर्न समेत सघाउछ । जोखिमको अवधारणागत स्पष्टताका लागि निम्न विषयमा थप स्पस्ट पारिएकोछ ।

(क) जोखिम (Risks): जोखिम भनेको threats, vulnerabilities and consequences समेत तीनवटा विषयको समष्टिगत कार्य (Function) हो । त्यसैले जोखिम मुल्याङ्कन भनेको ML/TF का लागि रहे भएका र हुन सक्ने प्रवल संभावना भएका Threats, Vulnerabilities र Consequences को पहिचान, विश्लेषण तथा मुल्याङ्कन हो ।

(ख) Threats: थ्रेट भनेको राज्य वा समाज वा अर्थतन्त्रलाई हानी नोक्सानी पुर्याउने हैसियत वा क्षमता भएको कुनै व्यक्ति, मानिसको समूह, वस्तु वा गतिविधि हो । ML/TF को सन्दर्भमा अपराधी (Criminals), ML/TF का गतिविधिहरू, आतङ्ककारी समूह, तीनका सहयोगी र तीनले प्राप्त गरेको कोष नै थ्रेट हुन् । सम्बद्ध कसुरका प्रकार र ती कसूरबाट आर्जन गर्ने सम्पत्तिको मात्रा (Size, Volume) को पहिचान नै Threats को पहिचान हो ।

(ग) Vulnerabilities: थ्रेटबाट दुरूपयोग गर्न सक्ने वा थ्रेट वा अपराधीले आफ्ना गतिविधि संचालन गर्न सहज बनाइदिने वा सहयोग पुर्याउने चिज, वस्तु, वातावरण वा अवस्थालाई Vulnerability भनिन्छ ।

देशको AML/CFT प्रणाली वा ML/TF नियन्त्रणका उपायहरु (Control Measures) वा देशको वित्तीय प्रणालीमा रहेका निश्चित विशेषताहरुका कारण सिर्जित कमीकमजोरीहरु (Weaknesses) सँग सम्बन्धित विषयवस्तुको पहिचानबाट Vulnerability को पहिचान गरिन्छ । ML/TF का लागि सहज बनाइदिने वित्तीय प्रणालीमा भएका कानूनी तथा प्रणालीगत छिद्र (Loopholes), वित्तीय उत्पादन तथा सेवा (Products and services) का प्रकारहरुजस्ता विशेषता (Features) सँग यो सम्बन्धित छ ।

(घ) Consequences: यो ML/TF को प्रभाव वा असरसँग सम्बन्धित छ । ML/TF ले राष्ट्र, समाज, अर्थतन्त्र, वित्तीय प्रणाली तथा संस्थामा पुर्याउने असरको मापनबाट Consequences को पहिचान हुन्छ । यो छोटो अवधी वा लामो अवधीसम्म असर तथा प्रभाव पुर्याउने प्रकृतिको हुन सक्छ। जनसंख्या, विशेष समुदाय, व्यवसाय, वातावरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्वार्थ, क्षेत्रीय वातावरण, देशको वित्तीय क्षेत्रको आकर्षण तथा छवीसँग सम्बन्धित छ । Consequences को मुल्याङ्कनको चुनौतिलाई मध्यनजर गरी जोखिम मुल्याङ्कन गर्दा विशेष गरी Threats र Vulnerability को मुल्याङ्कन गरी थ्रेटबाट विगतमा परेको, वर्तमानमा देखिएको र भविश्यमा पर्नसक्ने प्रभावलाई आंकलन गरिन्छ ।

३. जोखिमका प्रकारहरुः

अपराधजन्य कृयाकलापबाट आर्जित सम्पत्तिको गैरकानूनी श्रोत (Illegal Origin) लुकाउन, छल्न र विभिन्न तरिकाले आतङ्ककारी व्यक्ति, संगठन तथा कामका लागि रकम वा सम्पत्ती उपलब्ध गराउन वित्तीय प्रणालीका जोखिमको दुरूपयोग गर्ने गरेको पाइन्छ । ML/TF का मुख्य जोखिमहरुलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ:

(क) वातावरणीय जोखिम (Environmental Risks)
(ख) कार्यसंचालनगत जोखिम (Operational Risks)
(ग) उत्पादन तथा सेवाका जोखिम (Product and Service Risks)
(घ) च्यानलबाट सिर्जित जोखिम (Channel Risk)
(ङ) ग्राहकजन्य जोखिम (Customer Risk)
(च) क्षेत्रगत (Jurisdictional) तथा भौगोलिक (Geographical) जोखिम
(छ) वितरणीय जोखिम (Delivery Risk)
(ज) देशगत जोखिम (Country Risk) आदि ।

जोखिमकोस्तर पहिचान भएबाट जोखिम व्यवस्थापनका उपयुक्त उपाय अबलम्बन गर्न सकिने भएकोले जोखिममा आधारित पद्धति (Risk Based Approach-RBA) अपनाउनु परेको हो। अर्थात जति बढी जोखिम हुन्छ त्यति नै बढी नियन्त्रणका उपाय (Higher the risk, higher the control measures) अबलम्बन गरी ML/TF निवारण गर्न यसको अहम् भूमिका रहन्छ । कम जोखिम भएका क्षेत्रमा स्रोत साधन छर्न आवश्यक पनि हुन्न । स्रोत साधनको दक्षतापूर्वक विनियोजन गरी ML/TF जस्ता वित्तीय अपराध निवारणको कार्यलाई प्रभावकारी बनाउन त्यस्ता आपराधसँग सम्बन्धित जोखिमको पहिचान, विश्लेषण गरी जोखिमको उपयुक्त व्यबस्थापनको आवश्यकता पर्दछ।

४. ML/TF का जोखिमको सम्बन्धमा

FATF Recommendation मा भएको व्यवस्था संगठित अपराध, मानव तस्करी, ड्रग ट्राफिकिङ, भ्रस्टाचार, कर छली जस्ता वित्तीय अपराधका जोखिम र ML/TF का जोखिम राष्ट्रियस्तर, क्षेत्रगतस्तर र निकायगत रुपमा मुल्याङ्कन गर्नु पर्दछ । यो लेख विशेष गरी ML/TF का जोखिम मुल्याङ्कन तथा व्यवस्थापनका सम्बन्धमा केन्द्रित छ । AML/CFT का लागि ML/TF का जोखिम पहिचान, विश्लेषण र मुल्याङ्कन गरी पहिचान गरिएका जोखिमको व्यवस्थापनका सम्बन्धमा FATF Standards, 2012 (updated Feb., 2023) को Recommendation -1 मा उल्लेख गरिएको छ ।

FATF Methodology, 2013 (updated June, 2023) ले यसलाई देशको AML/CFT प्रणालीको मुल्याङ्कनको कसीबाट थप स्पष्ट पारेको छ। FATF Recommendation-1 तथा Interpretive Note to Rec-1 मा प्रत्येक सदस्य क्षेत्र (Member Jurisdiction) ले AML/CFT को नीति अन्तर्गत जोखिमको मुल्याङ्कन र जोखिममा आधारित पद्धती (Risk Based Approach-RBA) अबलम्बन गर्नु पर्ने कुरा सुझाएको छ । उक्त सिफारिस खण्डमा प्रत्येक देशले आफ्नो देशको सम्पत्ति शुद्धीकरण, आतङ्ककारी तथा प्रोलिफ्रेशनका कृयाकलापमा वित्तीय लगानीको जोखिमको पहिचान गर्ने, विश्लेषण गर्ने र सोको बोध गरी जोखिमको व्यवस्थापन गर्नुपर्ने दायित्व स्पष्ट गरिएको छ । जोखिम मुल्याङ्कन गरी प्रभावकारी रुपमा जोखिमको सम्बोधन गर्न आवश्यक AML/CFT नीति तयार गरी उपलब्ध स्रोत साधनको दक्षतापूर्वक विनियोजन गरी परिचालन गर्नुपर्ने भएकोले उक्त कार्य समन्वयात्मक रुपमा गर्न एक छुट्टै आधिकारिक निकाय वा संयन्त्रको स्थापना गर्नु पर्ने कुरा पनि उल्लेख गरिएको छ । यसमा जोखिमको स्तरअनुसार उपयुक्त नियन्त्रणको उपाय अवलम्बन गरिएको सुनिश्चित गर्न जोखिममा आधारित पद्धतीको अबलम्बन गर्न सिफारिस गरिएको पाइन्छ ।

FATF Rec-1 ले प्रतिपादन गरेका सिद्धान्तहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

(क) प्रत्येक देशले आवधिक रुपमा आफ्नो राष्ट्रको ML/TF का जोखिमको पहिचान तथा मुल्याङ्कन गरी जोखिमको बोध गरेको सुनिश्चित गर्नु पर्ने
(ख) जोखिम पहिचान लगायतका AML/CFT सम्बन्धी कार्यहरु समन्वयात्मक रुपमा सम्पन्न गर्न छुट्टै निकाय वा संयन्त्र स्थापना गर्नु पर्ने
(ग) सूचक संस्था (Reporting Entities), नियमनकारी निकाय (Regulatory Bodies), कानून कार्यान्वयन गर्ने निकाय (Law Enforcement Agencies-LEAs) तथा सरकारी वकील कार्यालय (Attorney offices) लगायतका सक्षम निकायले आफ्नो कार्यक्षेत्रभित्र रही AML/CFT सम्बन्धी कार्य गर्दा जोखिममा आधारित पद्धती (Risk Based Approach) अबलम्बन गर्नु पर्ने
(घ) AML/CFT का लागि स्रोत साधनको दक्षतापूर्वक विनियोजन (Efficient Allocation of Resources) गरेको हुनु पर्ने

५. ML/TF का जोखिम मुल्याङ्कनका उद्देश्य

सम्पत्ति सुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि ML/TF का जोखिम मुल्याङ्कन गर्नु पर्ने कुरालाई FATF का सिफारिसहरु प्रस्तुत गर्ने क्रममा सिफारिस नं. १ मा नै राष्ट्रिय जोखिम मुल्याङ्कन सम्वन्धी दायित्व स्पष्ट गर्नुले ML/TF का जोखिम मुल्याङ्कनको महत्वलाई दर्शाउदछ। उक्त सिफारिसको सम्बन्धमा गरिएको Interpretive Note to Rec-1 मा जोखिम मुल्याङ्कन सम्बन्धी राष्ट्रको दायित्वलाई थप स्पस्ट पारिएको छ । ML/TF जस्तो संगठित अपराधको निवारण गर्न मुलुकमा भएको सिमित श्रोत साधनलाई विनियोजन गर्दा प्राथमिकिकरण गर्नुपर्ने कारणले जोखिम मुल्याङ्कनले महत्त्व पाएको हो । FATF सिफारिसका आधारमा ML/TF जोखिम मुल्याङ्कनका मुख्य उद्देश्यलाई देहाय बमोजिम प्रस्तुत गर्न सकिन्छ ।

(क) देशमा रहेको सम्पत्ति सुद्धीकरण र आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानीको जोखिमको प्रकृति, अवस्था र जोखिमको स्तर (Low to High) पहिचान गरी वोध गर्नु,
(ख) देशका लागि आवश्यक AML/CFT को नीति सम्बन्धी निर्णय (Policy Decision) गर्न सहयोग पुर्याउनु
(ग) जोखिमको स्तर अनुसार सूचक संस्थाले जोखिम व्यवस्थापनका लागि सरलिकृत उपाय (Simplified Measure) वा विस्तृत/विशेष उपाय (Enhanced/Special Measure) को अवलम्बन गर्न सहयोग गर्नु,
(घ) पहिचान गरिएका ML/TF का जोखिमको व्यवस्थापन गर्न श्रोत, साधनको प्राथमिकिकरण गरी विनियोजन गर्न सहयोग पुर्याउनु
(ङ) ML/TF को निवारणको लागि क्षमता अभिवृद्धिका कार्यहरुको प्राथमिकिकरण गर्न सहज बनाउनु,
(च) ML/TF का लागि तय गरिएका नयाँ योजना तथा आपराधिक संगठनका गतिविधिका वारेमा जानकारी प्राप्त गरी समयमै उपयुक्त नियन्त्रणका उपायहरु अवलम्वन गर्न सहयोग गर्नु,
(छ) क्षेत्रगत तया संस्था/निकायगत जोखिम मुल्याङ्कनका लागि पृष्ठपोषण प्रदान गर्नु पनि National Risk Assessment को उद्देस्य हो ।
(ज) सूचक संस्था तथा सक्षम निकायलाई निकायगत उत्तरदायित्व निर्वाह गर्न र उक्त निकायहरुको कार्य सम्पादनस्तर मापन गर्न सहज बनाउनु ।

६. ML/TF का जोखिम मुल्याङ्कनका चरणहरुः

ML/TF का जोखिम मुल्याङ्कन गर्दा निश्चित चरणहरु पार गरिन्छ । जोखिम मुल्याङ्कनका चरणहरुलाई क्रमबद्ध रुपमा संचालन गरिने विभिन्न गतिविधिहरुमा बांड्न सकिन्छ । पहिचान, विश्लेषण तथा मुल्याङ्कन गरी तीन चरणमा यसलाई बाँडफाँट गरिन्छ । प्रत्येक चरणलाई निम्नानुसार उल्लेख गरिएको छ ।

(क) पहिचान (Identification): यस चरणमा ML/TF सँग जुध्न देशले महसुस गरिरहेका विभिन्न संभावित जोखिमहरुको प्रारम्भिक सूची तयार गरिन्छ । उक्त प्रयोजनका लागि देशले भोगिरहेका वा शंकास्पद ML/TF का Threats तथा Vulnerabilities को पहिचान गरिन्छ । यस चरणमा जोखिमको पहिचानका लागि संभावित जोखिमको विस्तृत विवरण तयार गर्ने मात्र होइन कि पहिला पहिचान हुन नसकेका नयाँ प्रकृतिका जोखिमहरुको समेत पहिचान गर्न सक्ने गरी गतिशील प्रकृया अपनाउनु पर्दछ ।
(ख) विश्लेषण (Analysis): यो जोखिम पहिचानको दोस्रो तर महत्वपूर्ण चरण हो । यस चरणमा माथि खण्ड (क) बमोजिम पहिचान गरिएका Threats तथा Vulnerabilities को विभिन्न सूचकका आधारित भई तथ्यगत आधारमा विश्लेषण गरी जोखिमको प्रकृति, मात्रा र स्तर यकिन गरिन्छ। अतः यस चरणमा विज्ञताको आवश्यकता पर्दछ । जोखिमको विश्लेषण गर्दा पहिचान गरिएका जोखिम तथा जोखिमका तत्वहरुको प्रकृति, स्रोत, संभाव्यता तथा प्रभावको सम्बन्धमा बिचार गरिन्छ । यस चरणलाई ML/TF का Threats, Vulnerabilities र Consequences बीचको अन्तर सम्बन्ध र योगबाट जोखिमको बुझाइको विकास गर्ने अर्थात Understanding the Risks को चरणको रुपमा समेत बुझिन्छ । जोखिम विश्लेषणको सिमितता भनेको उपलब्ध तथ्यांक वा सूचना र विज्ञताका आधारमा उक्त कार्य सम्पन्न गर्नु हो।
(ग) मुल्याङ्कन (Assessment): यो जोखिम मुल्याङ्कनको तेस्रो तथा अन्तिम चरण हो । यस चरणमा विश्लेषण गरी बोध गरिएका जोखिमको सम्बोधनका लागि जोखिमको प्राथमिकिकरण तथा स्तर निर्धारण गरिन्छ। यस्तो प्राथमिकीकरणले AML/CFT का लागि आवश्यक पर्ने रणनीति विकास र नीति, कानून तथा कार्य योजनाको प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि सहयोग गर्दछ। जोखिम मुल्याङ्कनका चरणलाई निम्न चित्रबाट थप स्पष्ट गरिएको छ ।


ML/TF को जोखिम मुल्याङ्कनका लागि निजी क्षेत्र जस्तै सूचक संस्थाहरु (Reporting Entities) तथा सरकारी निकायहरु जस्तै नियमनकारी निकाय (Regulatory Bodies), वित्तीय इन्टेलिजेन्स इकाई (Financial Intelligence Unit), कानून कार्यान्वयन गर्ने निकाय (Law Enforcement Agencies-LEAs), सरकारी वकील कार्यालय (Attorney Offices) जस्ता सक्षम निकायहरुको सहभागिता रहने गरी एक कार्य समिति (Working Committee) गठन गरी उक्त समितिबाट राष्ट्रिय जोखिम मुल्याङ्कन (National Risk Assessment-NRA) गर्ने गरिन्छ ।

७. ML/TF का जोखिम मुल्याङ्कन विधिः

जोखिम मुल्याङ्कनका लागि विभिन्न अन्तराष्ट्रिय संस्थाहरुले विभिन्न विधि तथा पद्धतीको विकास गरेका भएता पनि राष्ट्रिय जोखिम मुल्याङ्कनका लागि सहज होस भनेर विश्व बैंकले विकास गरेको राष्ट्रिय जोखिम मुल्याङ्कनको विधि तथा औजार (Tools) को यहाँ चर्चा गरिएको छ । उक्त टुल्स अन्तरगत नौ वटा मोड्युल्स (Modules) हरु रहेका छन् । उक्त मोड्युलमा तीन भाग रहेका छन् जस अन्तरगत मोड्युल १ देखि ७ सम्म सम्पत्ति शुद्धीकरणका जोखिम मुल्याङ्कन गर्ने तरिका उल्लेख गरिएको छ भने मोड्युल ८ मा आतङ्ककारी कृयाकलापमा वित्तीय लगानीका जोखिम

मुल्याङ्कन र मोड्युल ९ मा वित्तीय समावेशीकरण उत्पादनका जोखिम (Financial Inclusion Products Risks) को मुल्याङ्कन गर्ने तरिका उल्लेख गरिएको पाइन्छ । उक्त मोड्युल १ देखि मोड्युल ९ सम्मका खण्डलाई चित्रात्मक रुपमा तल प्रस्तुत गरिएको छ । ML-Threat Assessment Module ले राष्ट्रिय ML Threat को “Low” to “High” सम्म गरी पाँच तह (Low, Medium-Low, Medium, Medium-High, र High) मा जोखिमको स्तर पहिचान गर्ने विधि उल्लेख गरेको छ भने राष्ट्रिय ML-Vulnerability को पनि “Low” to “High” गरी पाँच तहमा जोखिमको स्तर पहिचान गर्ने विधि उल्लेख गरेको छ ।

८. नेपालमा AML/CFT का लागि ML/TF का जोखिम मुल्याङ्कनको अवस्था

नेपालको AML/CFT रणनीति तथा कार्ययोजना २०११-२०१६ बमोजिम नेपालमा पहिलो ML/TF जोखिम मुल्याङ्कनको कार्य सन् २०१२ मा शुरु गरियो । जोखिम मुल्याङ्कन सम्बन्धी यस कार्यले सन् २०१६ सम्म निरन्तरता पायो। यसकै जगमा नेपालको दोस्रो पन्चवर्षीय AML/CFT रणनीति तथा कार्ययोजना २०१९- २०२४ तयार गरी कार्यान्वयनमा लगियो । यसबीच विभिन्न नीतिगत, कानूनी तथा संरचनागत व्यवस्थाहरु समेत गरियो। ML/TF र यसका जोखिमप्रति समान बुझाई (Common Understanding) विकास गर्न विभिन्न क्षमता विकासका कार्यहरु पनि संचालन गरिए तर ती पर्याप्त भने थिएनन् । यसै बीच नेपालले विश्व बैंकले विकास गरेको ML/TF का जोखिम मुल्याङ्कनका विधि पद्धतीको समेत अनुसरण गर्दै सन् २०१५ देखि २०१८ सम्मको देशको अवस्था र सन् २०१९ को मध्यसम्मका केही तथ्यांकहरु समेत समेटी नेपालको राष्ट्रिय जोखिम मुल्याङ्कन प्रतिवेदन (National Risk Assessment Report) तयार गरी ML/TF का Threats तथा Vulnerabilities र जोखिमको स्तर (Low to High) समेत पहिचान गरिएका छन् । NRA-2020 ले ML/TF का उच्च जखिम रहेका Threats अन्तरगत भ्रष्टाचार, कर छली, बैंकिङ्ग कसूर तथा हुण्डी जस्ता वित्तीय अपराधलाई राखेको छ । त्यसैगरी बैङ्किङ्ग, सहकारी, धितोपत्र बजार, बिमा लगायत अन्य विभिन्न वित्तीय क्षेत्रहरुमा रहेको जोखिम (Vulnerabilities) को समेत पहिचान गरिएको छ ।

मुल्याङ्कनको कार्य प्रभावकारी हुन सकेको भने देखिदैन। जोखिम मुल्याङ्कन र व्यवस्थापनको सम्बन्धमा देखिएका कमी कमजोरीहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।

  • ML/TF को जोखिम र यसको महत्वका बारेमा सम्बन्धित निकायहरु लाई पर्याप्त जानकारी नहुनु, उदाहरणः सहकारी संस्था, क्यासिनो व्यवसायी, धितोपत्र व्यवसायी आदि सँग बुझ्दा सामान्य जानकारी समेत भएको पाइन्न भने बैंक वित्तीय संस्था तथा अनुसन्धान गर्ने निकायका सिमित व्यक्तिलाई मात्र यस वारेमा जानकारी भएको पाइन्छ ।
  • क्षेत्रगत तथा निकायगत जोखिम मूल्याङ्कनको कार्यले प्राथमिकता नपाउनु, उदाहरण: नेपाल राष्ट्र बैंकले वाहेक प्राय नियमनकारी निकायले हाल सम्म पनि क्षेत्रगत जोखिम मुल्याङ्कन गर्न सकेको देखिन्न ।
  • जोखिम मुल्याङ्कन क्षमताको कमी हुनु; उदाहरणः नेपालमा ML/TF का जोखिम मुल्याङ्कनका लागि प्रत्येक निकायमा आवश्यक जनशक्ति तयार गर्न नसकिएको। आइपरेका बेलामा विश्व बैंक जस्ता संस्थाले तयार गरेको जोखिम मुल्याङ्कनको Tools र Modules बमोजिम आवश्यक पर्ने सूचना तथ्यांक संकलन गर्न सूचक सहितको Format भरी पठाइदिन सम्बन्धित निकायमा लेखी पठाउने गरिएको तर ज्ञानको अभावमा जानीनजानी कर्मचारीले भरी पठाएको विवरणको आधारमा जोखिम मुल्याङ्कन गर्ने गरेको समेत देखिएको छ ।
  • मुल्याङ्कन निरन्तरताको कमिले समयमै अद्याबधिक गर्न नसक्नु; उदाहरणः देशको अवस्था, समय, आर्थिक कारोबारको प्रकृति, अपराधको प्रकृति, प्रवृति र सघनता, अपराध गर्न प्रयोग गरिएका नविन प्रविधिहरु, अपराधबाट आर्जित सम्पत्तीको मात्रा र आयतन, छिमेकी मुलुकको वित्तीय प्रणालीको अवस्था र शान्ती सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी आवधिक रुपमा ML/TF का जोखिमको मुल्याङ्कन गरी अद्यावधिक गर्दै जानु पर्ने र सो अनुसार जोखिम व्यवस्थापन गर्नु पर्ने दायित्व मुलुक सामु रहेको भएता पनि यस तर्फ नेपालको सक्रियता र कामले निरन्तरता पाएको देखिदैन । २०१६ र त्यसपछि २०२० मा मात्र राष्ट्रिय जोखिम मुल्याङ्कन गरेको देखिनुले यसलाई पुष्ट्याईं गरेकै छ ।
  • मुल्याङ्कन प्रयोजनका लागि पर्याप्त सूचना संकलन गर्न नसकेको र प्रभावकारी रुपमा जोखिममा आधारित पद्धति अवबम्बन गर्न नसकेको कारणले पहिचनान गरिएको जोखिमको विश्वसनीयतामा प्रश्न रहनु, उदाहरण : नेपालको राष्ट्रिय जोखिम मुल्याङ्कनबाट भ्रष्टाचारलाई ML/TF को उच्च जोखिम भएको अपराधको सूचीमा राखिको छ तर भ्रष्टाचारको कसुरबाट आर्जित सम्पत्तिको शुद्धीकरण भए गरेका मुद्दाको संख्या (हाल सम्म दुईवटा मात्र) र जफत गरिएको सम्पत्ति अत्यन्तै न्यून देखिएको छ भने मध्यम जोखिमको सूचीमा परेको ठगी सम्बन्धी सम्पत्ति शुद्धीकरणका मुद्दाहरुको संख्या र जफत गरिएको मागदावी लिइएको सम्पत्ति क्रमशः बढ्दो छ । पछिल्लो समय सहकारी क्षेत्रमा भए गरेका ठगीका अपराधको अवस्थाको मुल्याङ्कन गर्दा त्यस्तो अपराधबाट आर्जित सम्पत्तिको ठूलो मात्रामा शुद्धिकरण भएको हुनसक्ने देखिएबाट पनि यसलाई थप पुष्ट्याईं गरेको छ ।
  • आफ्नो देशको परिस्थिति अनुसार मुल्याङ्कनका सूचक विकास गर्न नसकी विश्व बैंकले तयार गरेका मुल्याङ्कनका सूचकमा मात्र भर पर्दा वास्तविक मुल्याङ्कन हुन नसक्ने संभावना रहनु; उदाहरण : नेपालको पछिल्लो पारस्परिक मुल्याङ्कनको पूर्व सन्ध्यामा संचालित एक कार्यक्रममा APG बाट प्रतिनिधित्व गरी आएका एक प्रतिनिधिले नेपालको राष्ट्रिय जोखिम मुल्याङ्कन गर्दा Media Report लाई समेत आधार लिनु भएको छ छैन भनेर प्रश्न गर्दा त्यसको जवाफ दिने व्यक्तिको धुइँधुइँती खोजि भयो, मरेर एकजना राष्ट्र बैंकका कर्मचारी उभिए तर उनले पनि स्पस्ट जवाफ दिन सकेनन् । उनको प्रश्न नेपालको Media क्षेत्रबाट जोखिम मुल्याङ्कनका लागि पर्याप्त सूचना प्राप्त गर्न सकिने भएकोले त्यसतर्फ पनि ध्यान दिनु भन्ने नै हो ।
  • जोखिममा आधारित पद्धति (Risk Based Approach-RBA) प्रभावकारी रुपमा अपनाएको नदेखिनु । उदाहरण : ज्ञानको अभवामा ML/TF/PF को उच्च जोखिमको क्षेत्रमा पर्याप्त स्रोत साधन परिचालन गर्न सकेको नदेखिनु, मध्यम तथा न्यून जोखिमका अपराधबाट आर्जित सम्पत्तिको शुद्धीकरण गरिएका सूचनाको अनुसन्धानले प्राथमिकता पाएको देखिनु, FIU बाट विश्लेषण सहित प्राप्त भएका सूचना (STRs/Intelligence) को अनुसन्धानमा भन्दा स्रोत नखुलेको सम्पत्तिको बेहोराका साथ प्राप्त साना तिना रकमका उजुरी तथा व्यक्तिले रिसईवी साँध्न दिएको जस्तो देखिने बेहोराका र कुनै तथ्य प्रमाण संलग्न नगरिएका उजुरी (Complaints) को जाँचबुझ तथा अनुसान्धानमा स्रोत साधन खर्च भएको देखिनु, उच्च जोखिम भएका अपराधका रुपमा सूचिकृत अपराधहरुमा क्रमशः कमी आउनुको सट्टा झन झन बढ्दै गएको देखिनु यसका उदाहरणहरु हुन् ।
  • नेपालमा आतङ्ककारी कृयाकलापमा वित्तीय लगानीको कार्य उच्च जोखिममा परेको नदेखिएता पनि यसलाई उच्च जोखिमको अपराधका रुपमा परिणत हुन नदिन वा यो कुनै दिन उच्च जोखिमको अपराधको रुपमा सूचिकृत हुन गएमा त्यसको समाधानको उपाय (Counter Measures) कस्तो छ वा हुनु पर्छ सो कुराले प्राथमिकता नपाउनु । उदाहरण : भारत सरकारले सूचिकृत गरेका विभिन्न आतङ्ककारी संगठनहरुको लगानीमा न्यूरोड जस्तो काठमाण्डौको मुटुमा एक नेपाली दम्पत्तिले पसल संचालन गरेर बसेको कुरा नेपालको सुरक्षा संयन्त्रले भारतबाट जानकारी पाएपछि मात्र थाहा पाउनु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाली सेनाबीच प्रभावकारी समन्वयको कमी देखिनु यसका उदाहरण हुन् ।

९. ML/TF का जोखिम मुल्याङ्कन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने केही उपायहरु

  • ML/TF/PF का जोखिम, सोको मुल्याङ्कन र जोखिममा आधारित पद्धतीको अबलम्बन गर्ने सम्बन्धमा सम्बन्धित सबै संस्था तथा निकायकाबीचमा समान बुझाइको विकास र कार्यात्मक दक्षता अभिवृद्धी गर्न व्यापक रुपमा क्षमता अभिवृद्धी सम्बन्धी कार्यक्रम संचालन गर्नु पर्ने
  • सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायमा कार्यरत केही कर्मचारी तथा पदाधिकारीलाई जोखिम मुल्याङ्कनका लागि विज्ञको रुपमा विकास गर्ने
  • देशको वित्तीय प्रणालीको अवस्था र सूचनाका संभावित क्षेत्रको अध्ययन गरी बढी भन्दा बढी सबै महत्वपूर्ण सूचना समेट्ने गरी जोखिम मुल्याङ्कनका लागि थप सूचक सहित जोखिम मुल्याङ्कनका सूचक निर्धारण गर्नु पर्ने ।
  • निरन्तर रुपमा जोखिम मूल्याङ्कन गर्ने कार्यलाई प्राथमिकतामा राखु पर्ने र आवधिक रुपमा अद्याबधिक गर्दै जाने र सोको जानकारी सम्बन्धित सबै संस्था निकायलाई अनिवार्य रुपमा दिनु पर्ने व्यवस्था गर्नु पर्ने
  • जोखिममा आधारित पद्धती अबलम्बन गर्न सम्बन्धित सबै निकायका सम्बन्धित कर्मचारीलाई कार्यक्षेत्रमा नै प्रशिक्षण दिनु पर्ने । स्वदेश तथा विदेशको कम्तिमा ३० दिनको तालिम नदिई वा नलिएका कर्मचारीलाई ML/TF/PF को अनुसन्धानमा सम्लग्न गराउन नहुने,
  • समय समयमा सार्वजनिक तथा निजी क्षेत्रका निकायहरुबीच जोखिममा आधारित पद्धतीको अवलम्बन सम्बन्धमा अन्तरकृयात्मक कार्यक्रम संचालन गर्नु पर्ने
  • जोखिममा आधारित पद्धतीको अबलम्बनका लागि Efficient allocation of resources भए नभएको सम्बन्धमा पुनराबलोकन गर्ने परिपाटीको विकास गर्नु पर्ने ।
  • नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाली सेनाबीच आतंकवादसँग लड्न विशेष संयन्त्र तथा सन्जालको विकास गरी नवीन प्रविधि र स्रोत साधनले सुसज्जीत भई तयारी अवस्थामा बस्नसक्नु पर्ने तर्क श्रीलंकाका नागरिक तथा आतंकबादविज्ञले नेपालको सुरक्षा संयन्त्र सामेल

१०. निष्कर्ष

नेपाल जस्तो सिमित स्रोत साधन भएको मुलुकका लागि ML/TF/PF जस्ता वित्तीय अपाराधसँग जुध्न जोखिममा आधारित पद्धतिको अबलम्बन गर्नु बढी सान्दर्भिक र व्यवहारिक हुने देखिन्छ । FATF को सिफारिस बमोजिम नेपालले पनि ML/TF का जोखिमको पहिचान गर्न पछिल्लो पटक सन् २०२० मा राष्ट्रिय जोखिम मुल्याङ्कन गरेको र पहिचान गरिएका जोखिमको छनोटपूर्ण व्यवस्थापनका लागि AML/CFT को राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०७६-२०८०) तयार गरी कार्यानवयन गरिरहेको अवस्था पनि छ तथापी पर्याप्त ज्ञान तथा सूचनाको अभावमा जोखिम मुल्याङ्कनको कार्य अझै प्रभावकारी हुन सकेको छैन। पहिचान गरिएका जोखिमको स्तर अनुसार स्रोत साधन विनियोजन गर्न नसक्दा जोखिममा आधारित पद्धतीको कार्यान्वयनमा प्रभावकारिता हासिल हुन सकको देखिन्न । अतः क्षमता अभिवृद्धीका कार्यक्रमहरूको माध्यमबाट ML/TF/PF का जोखिम मूल्याङ्कन र जोखिममा आधारित पद्धतिको अबलम्बनको लागि आवश्यक ज्ञान तथा सिपको विकास गरी उपलब्ध स्रोत साधनको प्राथमिकताप्राप्त क्षेत्रमा परिचालन गर्न सकेमा नेपालमा ML / TF/ PF का जोखिमको मुल्याङ्कन र जोखिममा आधारित पद्धतिको अबलम्बनमा प्रभावकारिता आउने देखिन्छ ।

तेजप्रकाश प्रसाई (उपसचिव)

सम्पत्ति शुद्धीकरण निवारणमा जोखिम मूल्याङ्कन र जोखिममा आधारित पद्धतिको अवलम्बन
Scroll to top
error: Content is protected !!